आयातकर्ता कम्पनीले मोबाइल बेचेर बिक्रेताको रोजीरोटी धरापमा पार्दैछन्

  २०७१ फागुन ६ गते १२:३६     विकासन्युज

पुरुषोत्तम बस्नेत, संयोजक–सामसङ मोबाइल महोत्सव

मोबाइल महोत्वको उत्तरार्धमा आईपुग्दा उपभोक्ताको प्रतिक्रिया र अवलोकनको अवश्था कस्तो छ ?
ताम्राकार कम्प्लेक्सको सातौं बर्ष प्रवेशको अवसर पारेर हामीले फागुन १ गते देखि मोबाइल महोत्सवको आयोजना गरेका हौं । यसको नाम ‘सामसङ मोबाइल महोत्सव २०१५’ राखिएको छ । यसलाई हुवावे मोबाइलले सह प्रायोजन गरेको छ । हामी मेलाको उत्तरार्धमा आईसकेका छौं । उपभोक्ताहरुको आवागनले हामीलाई हौसला दिएको छ ।
कति वटा कम्पनीहरुको सहभागीता छ ?
ताम्राकार कम्प्लेक्सका सबै मोबाइल बिक्रेताको यसमा सहभागीता रहेको छ । दुई दर्जन मोबाईल कम्पनीहरुले सहभागीता जनाएका छन् । त्यसमा सामसङ, हुवावे, माइक्रोम्याक्स, बिक्यु, जियोनी, पानासोनिक, भिडियोकोन, सोनी, एलजी लगायतका कम्पनी छन् । त्यसमा पनि सामसङ र हुवावे मोबाइलको बिक्री बढी देखिएको छ ।
उपभोक्ताका लागि सुविधाहरु के के छन् ?
उपभोक्ताका लागि निःशुल्क प्रवेश कुपन दिएका छौं ।
लक्की ड्र मार्फत हरेक दिन तीन जनालाई मोबाइल उपलब्ध गराई रहेका छौं । हरेक मोबाइलको खरिदमा लक्की ड्र मार्फत नै पाँच देखि ५० प्रतिशतसम्म छुट दिईरहेका छौं । हरेक दिन ३० हजार मुल्यको स्मार्ट फोन पनि एक जनालाई दिँदै आएका छौं । अन्तिम दिन एक जनालाई ८० हजार मुल्यको एउटा मोबाइल उपलब्ध गराउँछौं ।
अवलोकन कर्ताहरुको संख्या कस्तो छ ?
हामीले सात दिनमा तीन लाख अवलोकन कर्तालाई ताम्राकार कम्प्लेक्समा प्रवेश गराउने लक्ष्य राखेका छौं । दुई लाखले अवलोकन गरिसके अब लक्ष्यको नजिक छौं । हामीले यो महोत्सव मार्फत मोबाइलको व्यापार गर्ने भन्दा पनि ताम्राकार कम्प्लेक्सको पनि प्रवद्र्धन गर्न चाहेका हौं । ताम्राकार कम्प्लेक्स नै किन जानु पर्छ भनेर उपभोक्तालाई हामीले यो महोत्सव मार्फत सन्देश पनि दिन चाहेका हौं ।
अवलोकन कर्तामध्ये कति प्रतिशतले मोबाइल किनेका छन् ?
महोत्सवमा आउने मध्ये पाँच प्रतिशत अवलोकन कर्ताले पनि मोबाइल किन्दैनन् र किनेका पनि छैनन् । आउने मध्ये १० प्रतिशतले मात्रै मोबाइल किने भनेपनि एक बर्षसम्मको व्यापार धानिन्छ । महोत्सव भनेको बेच्ने मात्रै होईन् समान देखाउने ठाउँ पनि हो । मुख्य कुरा भनेको महोत्सवमा मोबाइलको प्रवद्र्धन गर्नु नै हो । पछिल्लो पटक सामसङ, जियोनी, हुवावे लगाएतका कम्पनीले भित्र्याएका नयाँ मोबाइलहरुको प्रवद्र्धन भैरहेको छ । त्यसमा केहि व्यापार पनि हुन्छ । हामीले ताम्राकार कम्प्लेक्सलाई मोबाइल हबका रुपमा स्थापित गराउने प्रयास गरेका हौं ।
समग्रमा मोबाइलहरुको व्यापार कस्तो छ ?
मोबाइल भनेको मानिसको अत्यावश्यक वस्तु बनिसकेको छ । मोबाइल पनि गाँस, बाँस, कपास जस्तो अनिवार्य वस्तु बन्न थालेको छ । तर आम बजारमा अश्वस्थ प्रतिष्पर्धा देखिएको छ । महोत्सवमा भने ग्राहक र व्यापारीले बार्गेनिङ गर्नु पर्दैन् । त्यसले केहि सहजता ल्याउँछ ।
मोबाइल आयातकर्ता कम्पनी र बिक्रेताहरु बिचको सम्बन्ध कस्तो छ ?
आयातकर्ता र बिक्रेताबीचमा सुमधुर सम्बन्ध हुनु पर्ने हो । तर आजकल आयात कर्ताहरुले आफैं मोबाइल बेच्न थालेका छन् । आयातकर्ताहरुले मोबाइल बेच्न पाउँदैनन् । आयातकर्ताको शोरुमले मोबाइल देखाउने मात्रै हो तर उनीहरु त आफैं बेचेर बिक्रेताको पेटमा लात हान्दैछन् । सामसङ, हुवावे, कलर्स लगाएतका सबै जसो मोबाइलका आयातकर्ताहरुले शोरुम मार्फत मोबाइल बेच्न थालेका छन् । आयातकर्ताहरुले आफैं मोबाइल बेच्ने हो भने बिक्रेतालाई दिनै छाड्नु पर्छ । त्यतिबेला हामी पनि आफैं मोबाइल ल्याउन तिर लाग्छौं ।
ताम्राकार कम्प्लेक्सलाई उपभोक्ताले किन रोज्ने ?
सात बर्ष पहिले मोबाइल हब बनाउने उदेश्य सहित ताम्राकार कम्प्लेक्सको स्थापना गरिएको हो । यहाँ आधा दर्जन मोबाइल कम्पनीका सर्भिस सेन्टर, ५० बढी खुद्रा बिक्रेता, दुई दर्जन बढी मोबाइलका ब्राण्डहरुले शोरुम खोलेका छन् । ग्राहक पनि ठगिँदैनन् । मुल्य पनि अन्त भन्दा कम छ । ताम्राकार कम्प्लेक्स मोबाइल हब नै हो ।
तपाईको कम्पनी टेलि टु प्रालीले के गर्छ ?
टेली टु प्रालीले न्युरोड क्षेत्रमा हुवावे मोबाइलको थोक बिक्रेताका रुपमा काम गर्छ । न्युरोड क्षेत्रमा हुवावे मोबाइलले सामसङलाई उछिन्नै लागिसक्यो । नेपालमा एक बर्ष भित्र हुवावेले सामसङलाई उछिन्छ ।
त्यसका आधारहरु के के हुन् त ?
हुवावेका मोबाइलको मुल्य सामसङको भन्दा २० प्रतिशत कम छ । मोबाइल पनि राम्रा छन् । १५ हजार होली मोबाइल बेच्दा १५ वटामा पनि समस्या देखिएको छैन् । कम्पनीले ब्राण्डिङ पनि राम्रोसँग गरिरहेको छ । नेपालमा हुवावे मोबाइलको भविष्य राम्रो देखिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.