देउराली जनता फर्मास्युटिकल्सले ५० करोड लगानी थप्दै, मोलिक्युल बनाउने अनुसन्धानशाला बनाउने

  २०७१ माघ १६ गते १६:०२     सन्ताेष राेकाया

१६ माघ । देउराली जनता फर्मास्युटिकल्सले ५० करोड लगानी थपेर अनुसन्धानशाला बनाउने भएको छ । २४ औं बर्ष पुरा गरेको उपलक्ष्यमा कम्पनीले आयोजना गरेको कारर्यक्रममा यस्तो जानकारी दिएको हो ।

‘हामी रजत जयन्ती मनाउने बर्षमा आइपुगेका छौं, यो बर्ष हामीले बिविध नयाँ कामहरु गर्नेछौं जसमध्येको एक अनुसन्धानशाला निर्माण पनि हो,’ कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । यस्तो प्रयोगशालामा औषधि बनाउन आवश्यक मोलिक्युल तयार पारिने र यसलाई निर्यात गर्ने उदेश्य कम्पनीको रहेको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.रामशरण महतले अन्तराष्ट्रिय बजारमा जान आवश्यक कुनै पनि प्रकारको प्रोत्साहन र सहयोग दिन सरकार तयार रहेको बताए । ‘त्यस सहयोगको आवश्यकताको पुष्ट्याइ गर्नुभयो भने हामी तयार छौं,’ उनले भने ।

तर गुड म्यानुफ्याक्चरिङ प्रयाक्टिस (असल उत्पादन अभ्यास/जीएमपी) सर्टिफिकेसन पाएका नेपाली औषधी कम्पनीहरु प्रति अन्तराष्ट्रय बजारमा विश्वास गर्ने वातावरण नबनेको कम्पनीका कार्यकारी निर्देशक शर्माले उल्लेख गरे । उनले यस्तो प्रमाणिकरण तथा कम्पनीहरुको कागजातको विश्वसनियता बढाउने वातावरण बनाउन औषधि व्यवस्था बिभागले भुमिका खेल्नु पर्ने बताए ।

रजत जयन्ती मनाउने बर्षको रुपमा लिदै कम्पनीले सरकारसंग बिभिन्न क्षेत्रमा काम गर्न अनुमती मागेको छ । सरकारले कुनै एक जिल्ला तोकिदिए त्यहाका सबै नागरिकलाई दक्ष बनाउने आफ्नो सोच रहेको कम्पनीले बताएको छ । त्यस्तै, दुई देखि पाँच मेगावाटका कुनै एक साना जलविद्युत् आयोजना बनाउन, विश्वविधालय सञ्चालन गर्न सरकारले अनुमति दिएमा कम्पनी इच्छुक रहेको समेत कार्यक्रममा बताइएको छ ।

हाल कम्पनीले उत्पादन गरिरहेको औषधिको दैनिक प्रयोगकर्ता एक लाख २० हजार रहेको कम्पनीको तथ्यांक छ । कम्पनीले हाल २१० थरीका औषधि उत्पादन गरिरहेको छ । कम्पनीले हालसम्म आफ्नो जडित क्षमताको ६० प्रतिशत मात्र उत्पादन गरिरहेको छ । कम्पनीले २०६० मंसिरमा आइएसओ प्रमाणिकरण पाएको थियो । डब्लुएचओ जीएमपी प्रमाणिकरण भएको कम्पनीले हालसम्म स्थिर र चालु सम्पत्तीमा गरि एक अर्ब एक करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीमा तीन सय ५० जनाले रोजगारी पाएका छन ।

हाल नेपालमा औषधी उत्पादन क्षेत्रमा कुल २५ अर्ब रुपैयाँको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.