गरिवको वनभोज

  २०७१ मंसिर १८ गते ९:३५     विकासन्युज

गाउँघरमा हिउँद महिनामा टोलका सबै सदस्य मिलेर वनभोज जाने प्रचलन हुन्छ । वर्षभरि बोलचाल नभएका वा कुनै सहकार्य र सहयोग आदानप्रदान नभएका कतिपय घरपरिवार पनि यस्तो भोजमा सहभागी हुन्छन् । बाँकी छिमेकीसँग राम्रो देखिनको लागि त्यस्ता घरपरिवारले आपसी वैमनस्यतालाई वनभोजमा सकेसम्म लुकाउँछन् । औपचारिक भेटघाट समेत गर्दछन् । कहिलेकाही त्यस्तो भेटबाट नयाँ सम्बन्ध बन्न सक्छ र नबन्न पनि सक्छ ।
सार्क शिखर सम्मेलनको १८ औं श्रृंखला त्यस्तै भयो । भारत र पाकिस्तानबीच चिसोपना लुकाउन खोज्दाखोज्दै पनि सार्वजनिक वहसमा आयो । अन्तिम दिन नवाज सरिफ र नरेन्द्र मोदीले लामो हस्त मिलन गरेर औपचारिकता प्रदर्शन गरे । यही नै सार्कको महत्वपूर्ण उपलब्धि मानियो । वनभोजमा रमाइलोको साथै टोल र समुदायको विकासका कुरा पनि हुन्छन् । टोलको विकास यसरी गर्ने भन्ने सहमति हुन्छ । तर, अर्को वर्षको वनभोजमा भेट हुँदा समस्या ज्यूँका त्यूँ हुन्छन् ।
टोलवासीलाई जोड्न सामूहिक भोजले केही न केही सहयोग त गर्छ । तर, आधुनिक युगमा यस्तो अनौपचारिक संयन्त्रले समयको मागअनुसार विकास प्राप्त गर्न सक्दैन । नयाँ सीप, प्रविधि, सोच, व्यवस्थापनको विकास भइरहेको हुन्छ । औपचारिक साझा संगठनको निर्माण र त्यसको व्यावसायिक कार्यसम्पादनबाट मात्र टोल विकासमा उपलब्धि हात लाग्न सक्छ ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) देख्दा औपचारिक साझा संगठन भए पनि यसको संरचना, अधिकार र कार्यशैली अनौपचारिक संगठनको हैसियतमा छ । शिखर सम्मेलन गर्नैपर्ने बाध्यता र निश्चित मिति छैन, कुनै सदस्यलाई मन नलागे सम्मेलन हुँदैन । भएका सहमति कार्यान्वयन गर्नुपर्ने कुनै बाध्यता छैन, कार्यान्वयन गराउने कुनै संयन्त्र पनि छैन ।
अति कम विकसित अवस्थामा रहेको दक्षिण एसियाको विकासलाई दु्रत गर्ने उदेश्यले सन् १९८५ मा स्थापित सार्कले तीन दशक अवधिसम्म उदेश्य प्राप्तिमा शून्य उपलब्धि हासिल गरेको भन्न सकिन्छ । केही उपलब्धी भए पनि यसका लागि गरिएको लागतअनुसार न्यून प्रतिफल भएकाले वास्तविक प्रतिफल शून्य नै मान्नुपर्छ । सार्क सम्मेलन आयोजना, बैठकहरु आयोजना, सचिवालय व्यवस्थापन र क्षेत्रीय केन्द्र सञ्चालनको लागि ठूलो धनराशी खर्च हुन्छ । काठमाडौं शिखर सम्मेलनलाई हेरौं, चार दिन नेपाल बन्द हुँदा अर्थतन्त्रले व्यहोर्नुपर्ने बराबर क्षति व्यहोर्नुपर्यो ।
उपलब्धिको मापन सहमति, घोषणा संख्या र कार्यालय स्थापनाबाट गरिदैन । नतिजाको प्रभाव मूल्यांकनबाट उपलब्धि मापन गरिन्छ । क्षेत्रीय संगठनको उपलब्धि मापन गर्ने मूल आधार आपसी व्यापार, आवातजावतको अवस्था र सर्वसाधारणको जीवनस्तरमा भएको परिवर्तन हो । सार्क मुलुकबीच आपसी व्यापार उनीहरुको कूल अन्तर्राष्ट्रिय व्यापारमा ५ प्रतिशत छ । अर्को मुलुकबीच प्रवेशाज्ञारहित यात्राको त कुरै छोडौं, सीधा हवाइ उडान सेवा समेत छैनन् । यस क्षेत्रमा गरिबी २५ प्रतिशत कायम छ ।
सार्कका शिखर सम्मेलनको विकासक्रम अध्ययन विश्लेषण गर्दा झनपपिछ झन असफल हुँदै आएको प्रष्ट देखिन्छ । सार्कको स्थापना र पहिलो शिखर सम्मेलन गर्दा निकै उत्साह, अपेक्षा र जाँगर देखिएको थियो । त्यो क्रमशः कम हुँदै अहिले त झण्डै कुनै सहमतिबिना टुंगिएको थियो । यो सम्मेलनले क्षेत्रीय ऊर्जा व्यापारलाई खुला गर्ने सम्झौता गरेको छ । त्यो सहमति पनि नहुने स्थिति आएकोमा नेपालका प्रधानमन्त्रीले आप्mनो प्रतिष्ठाको लागि सहमति गरिदिन आग्रह गरेपछि पाकिस्तान सहमतिको लागि तयार भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले सार्वजनिक गरे ।
यूरोपियन युनियन र आसियानले फड्को मारेको तर सार्कले केही प्रगति नगरेको भनेर तुलना गरिन्छ । तर, सार्कले उपलब्धि हासिल नगर्नुका पछाडि रहेका कारणको पहिचान र त्यसलाई सुल्झाउने प्रयत्न यस पटकको शिखर सम्मेलनले पनि गर्न सकेन । अब सार्कको औचित्य र महत्व अर्को सम्मेलनसम्म धेरै हदसम्म घटेर जानेछ किनकि आधुनिक विश्व ग्राम समाज अधिकतम प्रतिफल नदिने कुनै पनि प्रयासलाई चासो दिन तयार छैन ।
क्षेत्रीय संगठन स्थापना गर्दैमा आपसी सहयोग प्रवद्र्धन भएर विकासले गति लिइहाल्ने होइन । यसमा विभिन्न पक्ष जिम्मेवार हुन्छन् । यूरोपियन युनियन जति सफल छ, आसियान त्यसको तुलनामा कम छ । यूरोपियन मुलुकको पृष्ठभूमि नै फरक छ । यूरोपियन युनियनका सदस्य मुलुकमा राजनीतिक व्यवस्थामा एकरुपता छ । सबै सदस्यले लोकतन्त्रलाई आत्मसात गरेका छन् । जनतामा चेतनास्तर उच्च छ, राजनीतिकर्मीमा राजनीतिक संस्कार विकसित छ । आसियान सदस्यमा ती गुण तुलनात्मक कम छ भने दक्षिण एसियामा शून्यकै नजिक छन् ।
दक्षिण एसियामा केही मुलुकमा अझै निरंकुश राजतन्त्र र केहीमा मुस्लिम सरिया कानुनको शासन बाँकी छ । लोकतन्त्र घोषणा गरिएका मुलुकमा पनि २५ प्रतिशतभन्दा कम लोकतन्त्र रहेको छ । विश्व सर्वेक्षणअनुसार युरोपियन मुलुकका सदस्यमा लोकतन्त्रको अभ्यास ७५ प्रतिशतभन्दा बढी पाइएको छ । राजनीतिक संस्कारको बारेमा सर्वेक्षण त भएको छैन तर कानुन र संविधानको आफू अनुकूल ब्याख्या गर्ने यस क्षेत्रका राजनीतिकर्मीको व्यवहारबाट उनीहरुमा संस्कार विकास नभएको प्रष्टै हुन्छ ।
क्षेत्रीय संगठनको संरचना र प्रदान गरिएको अधिकार पनि सार्कमा फरक छ । ईयू राजनीतिकर्मी नेतृत्वको संगठन हो भने सार्क कर्मचारी नेतृत्वको संगठन हो । ईयू सचिवालयलाई महासभाबाट पारित घोषणा कार्यान्वयन गराउने अधिकार छ । सार्कमा सचिवालयलाई अभिलेख व्यवस्थापनको मात्र अधिकार दिइएको छ । क्षेत्रीय संगठनहरु स्थापना मात्र गरिएका छन्, अनुगमन र प्रगति समीक्षा नै गरिंदैन ।
सार्कले क्षेत्रीय स्वतन्त्र व्यपार संचालन गर्न २००६ मा साप्mटा लागू गर्ने घोषणा गर्यो तर त्यसको कार्यान्वयनमा त्यस पछिल्ला सम्मेलनले क्रमशः कम महत्व दिंदै आए । अहिले साप्mटा चर्चाबाट पनि हराउन थालेको छ । क्षेत्रीय विकासको मूल आधार नै आपसी व्यापारको सहजीकरण र वृद्धि हो । सार्कले त्यसलाई बेवास्ता गरी अन्य जति मुद्दालाई समेटे पनि विकासले गति लिन नसक्ने निश्चित छ ।
आतंकवाद नियन्त्रण, जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन, गरिबी निवारण, खाद्य सुरक्षा, मानव बेचबिखन, जनस्वास्थ्यमा सुधार, साक्षरता अभिवृद्धि, सञ्चारको सञ्जाल, यातायातको सञ्जाललगायत जल्दाबल्दा सबै मुद्दालाई सार्क घोषणाले समेटेका छन् । शिखर सम्मेलनले समस्या साझा प्रयत्नबाट हल गर्ने प्रतिवद्धता गर्दछ, फलानो वर्ष, फलनो दशक, फलानो नारा र फलानो दिवस भनेर घोषणा गरिन्छ । तर त्यसपछि त्यसको अनुगमन नै हुँदैन ।
सार्कमा महत्व पाउने विषय भनेको सार्क सम्मेलनको मिति र भौतिक तयारी हो । आठ मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुखको अनुकूल मिति तय गर्न र सार्क सम्मेलनको मिति तय भए पछि भौतिक संरचना निर्माण र सरसफाई गर्न सबै आयोजक राष्ट्रले उल्लेख्य समय र श्रम खर्च गर्दछन् । अनि यस्तो प्रतिकूल अवस्थामा पनि शिखर सम्मेलन आयोजना गर्न सकियो, त्यो नै उपलब्धि हो भनेर हर्षित हुने गरेको पाइन्छ । हरेक वर्ष हुनुपर्ने शिखर सम्मेलन तीन दशकमा १८ मात्र हुन सकेका छन् । घोषणाहरु कार्यान्वयन गर्न कसैले चासो र पहल लिएको पाइदैन ।
सार्कबाट सरकारी तहभन्दा अनौपचारिक तहले बरु केही लाभ लिएको पाइन्छ । सार्क स्तरीय उद्योगी व्यवसायीका संगठन, पेशाकर्मीका संगठन, अनुसन्धानदाताका संगठन, सामाजिक अभियानकर्ताका संगठनहरुले आपसी छलफलबाट उपलब्धिहरु हासिल गरेका छन् । समस्याको सही पहिचान गर्ने र निधानका उपायहरु पत्ता लगाई आपसी सहकार्य र समन्वय गर्ने परिपाटी अनौपचारिक क्षेत्रमा देखिएको छ । उनीहरुले विश्व स्तरीय फोरमहरुमा साझा धारणा प्रस्तुत गर्ने र सहयोग परिचालनमा सहयोग प्राप्त गर्ने गरेका छन् ।
सार्कले सफलता पाउन नसक्नुका कमीकमजोरीबारे सबै सदस्य राष्ट्र जानकार छन् र कहिलेकाहीं चासो पनि व्यक्त गर्दछन् । तथापि १८ औं सम्मेलनमा पनि त्यसमा सुधार गर्ने एजेण्डा प्रस्ताव गरिएन । सचिवालयलाई घोषणा कार्यान्वयनको अनुगमन र निर्देशन दिने अधिकार दिने विषय सम्मेलनमा प्रवेश गराइएन । रेलवे र सडकमार्फत सार्कलाई जोड्ने सहमति गर्ने भनी भएको तयारी पनि काम लागेन । यदि त्यसमा सहमति नै भएको भए पनि उपलब्धि हुने थिएन । किनकि, यसअघिका कमीकमजोरी मूल्यांकन नगरी नयाँ जतिसुकै राम्रा एजेण्डा पारित गरे पनि उपलब्धी शून्य नै हुनेछ ।
सार्कले एजेण्डा प्रस्ताव गर्दा कुनै विषय नछुटोस् भन्नेमा मात्र ध्यान केन्द्रित गरेको पाइन्छ । धेरै उदेश्य राख्नु भनेकै कुनै पनि उदेश्य प्राप्त नगर्ने दिशामा अघि बढ्नु हो । आफूले कार्यान्वयन गर्न र उपलब्धि हासिल गर्ने विशिष्ट उदेश्य क्रमशः राख्दै जानुपर्छ । सीमा जोडिएका नजिकका मुलुक मिलेर सहजै प्राप्त गर्नसक्ने सफलता भनेको आपसी व्यापार सहजीकरण र वृद्धि हो । जनताबीच आवातजावतको सहजता हो । श्रमिक र पुँजीको खुलापन हो ।
सार्क भने प्राथमिक विषयमा केन्द्रित नभई सबै विषयमा चासो व्यक्त गर्ने संगठन बनेको छ । कार्य क्षेत्रलाई विशिष्टिकरण नगर्नुले कुनै पनि काम पर्याप्त अध्ययन, अनुसन्धान र गृहकार्यका साथ नतिजा प्राप्तीको सुनिश्चितता भएर गरिएको होइन भन्ने स्पष्ट हुन्छ । सार्कले संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठनजस्ता विश्वस्तरीय संस्थाले उठाएका मुद्दासँग तालमेल हुने गरी क्षेत्रीय मुद्दाको उठान गर्ने विषयमा पर्याप्त ध्यान दिएको देखिंदैन । कहिले क्षेत्रीय संगठनले महत्व दिनु नपर्ने विषय पनि सार्कले समावेश गरेको हुन्छ भने कहिले बढी महत्व दिने विषयलाई पनि समान महत्वमा प्रस्तुत गरेको हुन्छ ।
दक्षिण एसियाली मुलकका अधिकांश आर्थिक सामाजिक समस्या साझा छन् । गरिबी, बेरोजगार, पोषणको अभाव, सामाजिक विभेद, आर्थिक असमनता, कमजोर मानवस्रोत आदि साझा समस्या हुन् । सीमित साधन स्रोत रहेको यस क्षेत्रका मुलुकका लागि यस्ता समस्यासँग जुँध्ने प्रभावकारी उपाय भनेको सामूहिक प्रयत्न हो । यसबाट सही नीतिको तर्जुमा भई कम लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी कार्यान्वयन पक्ष प्रभावकारी हुन सक्छ । विश्व समुदायले गर्ने सहयोग र समन्वयको लागि त्यसबाट आधार प्राप्त हुन्छ ।
यदि सार्कलाई गतिवान बनाउने हो भने सुधारको सुरुवात सचिवालयलाई अधिकार र साधनस्रोत सम्पन्न बनाई सक्षम तुल्याएर गर्नुपर्छ । सचिवालयले अध्ययन, अनुसन्धान, विज्ञको सेवा लिने, अन्य क्षेत्रीय संगठन र विश्व संगठनसँग समन्वय र सूचना÷जानकारी आदान प्रदान गरेर आफूलाई थप सशक्त बनाउन सक्छ । सचिवालय र सार्कले गठन गर्ने विषयगत समितिहरु मिलेर योजनावद्ध र व्यवस्थित रुपमा प्रस्तावहरु तयार गर्न सक्छन् । कार्यान्वयनमा घच्घचाउने संयन्त्र भएपछि आम सञ्चार, कर्मचारीतन्त्र र राजनीतिक तहमा पनि चासो वृद्धि हुन्छ र क्रमशः सार्कले गति लिन थाल्नेछ ।
यूरोपियन युनियनले सफलता पाउनुको पछाडि फ्रान्स र जर्मनीले देखाएको उदारता र त्याग सराहनीय छ । आफू शक्तिशाली र परम्परागत प्रतिद्वन्द्वी भए पनि उनीहरुले आफ्ना क्षेत्रको जनताको हितका लागि उदारता देखाए, कमजोर मुलुकलाई पनि समान सम्मान दिन तयार भए । दक्षिण एसियामा भारत र पाकिस्तान त्यस्तै अवस्थामा रहँदै आएका छन् । त्यसमध्ये पनि भारतले बढी उदारता देखाउनुपर्ने देखिन्छ ।
सार्क साँच्चै क्षेत्रीय स्तरमा जनताको जीवनस्तर उकास्न चाहन्छ भने चीनलाई सदस्य बन्नबाट छेकबार लगाउनुको कुनै औचित्य देखिंदैन । ईयू ६ मुलुकबाट सुरु भएर २८ मुलुक पुगेको छ । तर, सार्क ७ बाट बल्लतल्ल ८ पुगेको छ, तैपनि ७ मुलुकमात्रै समेटिएको बडापत्रमा अझै संशोधन गरिएको छैन । ईयूमा सदस्यता सधैं खुला रहन्छ र मापदण्ड भित्र रहने मुलुकको संख्या बढाउन ईयू प्रयत्नशील छ ।
सार्कमा यदि चीन सहभागी हुने हो भने पाकिस्तान र भारतबीचको समस्या स्वतः कम भएर जान्छ । अहिले सार्कमा पाकिस्तानबाहेक भारतको त्वम् शरणम् गर्ने कमजोर मुलुक मात्र छन् । यहाँ तेस्रो शक्ति मिसियो भने सोच्ने स्तरमै गुणात्मक परिवर्तन आउने निश्चित छ । प्रविधि, आविश्कार, उत्पादन, व्यापार र समृद्धिको मुद्दाले चेप्न थालेपछि राजनीतिक मतभेद र वैमनस्यता स्वतः ओझेल पर्दै जान्छन् । तर, विडम्बनाको कुरा यस्तो सुनौलो अवसर प्राप्त गर्न यो सम्मेलनले सदस्यता थप गर्ने विषयमा छलफलसम्म गर्न सकेन ।
भारतका प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहणमा सार्कका सबै समकक्षीलाई आमन्त्रण गरेर सकारात्मक सन्देश दिएका थिए । आर्थिक समृद्धिमा जोड दिने मोदीले सार्क सम्मेलनको क्रममा थप राजनीतिक उदारता देखाउलान् भन्ने अपेक्षा थियो । तर, उनले त्यसो गरेनन् । सायद भारतभित्र जारी राजनीतिक चुनावको कारण उनले संयमता र कुटनीतिक कार्यशैली अवलम्बन गरेका हुन सक्छन् । त्यसो हो भने छिट्टै उनले पाकिस्तान र चीनसँग सामिप्यताको हात बढाउने छन् । मोदीबाट त्यस्तो प्रयास देखियो भने सार्कले गति लिनेमा धेरै आशा गर्न सकिने छ ।

rameshghimire21@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.